• जेष्ठ २७ २०८२, सोमबार

पहिचानको मुद्दालाई लुज बनाउन हुँदैन : खेलकुद मन्त्री लिम्बू

श्रावण ७ २०८०, आईतवार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादु लिम्बूले मन्त्रालय सुहाउँदो बजेटका लागि सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा मन्त्री लिम्बुले युवा तथा खेलकुद अत्यन्त ऊर्जाशील भएपनि बजेट कम भएको बताए ।

‘बजेट बढाउने कुरामा पार्टीले ध्यान दिनुपर्यो । त्यहाँ युवा साथीहरूको उठबस हुने अवस्था छ । त्यसले पार्टी संगठन गर्न सकिन्छ,’ उनले भने, ‘तर पार्टीको प्राथमिकताभित्र यो मन्त्रालय परेको छैन । मन्त्रालय सुहाउँदो बजेटका लागि सभापतिज्यूलाई विशेष आग्रह गर्न चाहन्छु ।’

कांग्रेसले पहिचानको मुद्दा लुज गरेको मन्त्री लिम्बुको भनाइ छ । ‘पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने नेपाली कांग्रेसको संघीयता हो भनेर हामीले भन्यौँ तर त्यो अनुसारको काम हुन सकेन । अहिले कोशी प्रदेशमा झमेला जन्मिएको अवस्था छ । प्रदेशसभाले वैधानिक रुपमा नाम टुंग्याएपनि विषय जटिल्तातर्फ गइरहेको छ,’ उनी भन्छन् । कोशी प्रदेशको विवादलाई नयाँ ढंगले परिभाषित गर्नु नेतृत्वलाई उनले आग्रह गरे ।

यस्तै सरकारले सुशासन दिने प्रयत्न गरेको उनले बताए । ‘मन्त्रीहरुको बीचमा समन्वय गर्ने कुरामा पार्टीले निर्देशन गर्नपर्छ । अन्तरपार्टीका बीचमा सरकार सञ्चालन भइरहेको अवस्था छ । अन्तरपार्टीका मन्त्रीहरुको बीचमा पनि समन्वय कसरी गर्ने नेतृत्वले ध्यान दिनुपर्छ,’ उनले भने ।