काठमाडौँ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्।हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो।
कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जनाएको छ ।भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्।
ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो। तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो।
‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए। उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो। रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न। उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो। त्यो गरेको देखिएन।’शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्याएको स्रोत बताउँछ।
रेडी प्रा.लीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो। जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो।‘त्यसपछि पनि यसलाई हेर भनेर सम्बन्धित अधिकृतलाई बुझाउनुपर्छ। आफू पनि सँगै बस्नुपर्छ,’ स्रोतले भन्यो।
उनी टेलिफोन अपरेटर हुन्। उनी एक्सरे हेर्नेसम्बन्धी तालिम लिएका व्यक्ति हुन्।यस्तै खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्छ। तर पनि उनले सुन देखेनन्।
‘सिसिटिभीमा हेर्दा कुमारले दुई वटा बक्स खोलेर हेरेको देखिन्छ। तर ब्रेक शुमात्रै देखेपछि उनले पठाइदिए ।त्यसैगरी भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ। त्यससमय भन्सारमा आएका सामान हेर्ने जिम्मेवारी उनको थियो। तर उनले एकपटक पनि नहेरेको पाइएपछि निलम्बन गरिएको हो।
अहिले निलम्बनमा परेका कर्मचारीहरू पनि अनुसन्धानको घेरामा छन्। उनीहरूसँग पनि राजश्व अनुसन्धान विभागले सोधपुछ गरी थप कारबाही गर्नसक्ने स्रोत बताउँछ।
यसरी कमजोरी गर्ने अन्य कर्मचारीहरूलाई पनि कारबाही गर्ने तयारी विभागको छ।भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले मंगलबार अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो।