• जेष्ठ २७ २०८२, सोमबार

बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरियो

श्रावण ५ २०८०, शुक्रबार

काठमाडौं। प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो ।

घिमिरेका अनुसार अहिले करिब १२० वटा फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा पुगेका छन् ।नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयको विरोधका बाबजुद पनि प्रहरीले बल प्रयोग गरेर फोहोर लगेको बताए ।

स्थानीयबासी सुमित्रा घिमिरेले प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेर फोहोर बोकेको गाडी बञ्चरेडाँडा लगेको बताइन् ।

‘विरोध गर्न आउने पुरुषहरुलाई पक्राउ गरेर मुद्दा चलाउने धम्की प्रहरीले दिएपछि उनीहरू पछि हटे, महिलाहरुले मात्रै रोक्न सकेनौं ’ घिमिरेले भनिन् । राज्यले सधैं बञ्चरेडाँडा र सिसडोलीबासीलाई दमन गरिरहेको भन्दै उनले आक्रोश पोखिन् ।

स्थानीयहरूले १ साउनदेखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि ल्यान्डफिल्ड साइट जान सकेका थिएनन् । बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

दैनिक ३ सय ८० वटा ट्रक बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भइसकेको थियो । २ साउनमा गएको ३० वटा फोहोर बोकेका गाडी बाटोबाटै फर्केपछि फोहोर बोकेको गाडी काठमाडौंबाट जानै रोकिएको थियो ।