• जेष्ठ २७ २०८२, सोमबार

प्रदीप पौडेलले भने,‘राष्ट्रियसभामा ३५ र प्रतिनिधिसभामा २०१ जना रहने व्यवस्थामा जाऔं’

श्रावण ५ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा सुधारको आवश्यकता रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले पार्टीका आन्तरिक मतदान प्रणालीमा संशोधन आवश्यक रहेको बताए ।

उनले पार्टी नेतृत्व चयन गर्दा सबै सदस्यहरूलाई सहभागी गराउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पार्टीका सबै तहमा नेतृत्व चयन गर्दा पूणर् प्राइमरी इलेक्सन सुनिश्चित गर्ने व्यवस्था लागू गर्नुपर्ने बताउँदै नेता पौडेलले पार्टीको नेतृत्व चयन निर्वाचन पद्धतिबाट गरिनुपर्ने बताए ।

यस्तै, नेता पौडेलले पार्टीबाट सरकारमा नेतृत्व गर्नहरूलाई दुईपटक मात्रै मौका दिने व्यवस्था गरिनुपर्ने माग गरे । उनले भने,’पार्टीबाट सरकारमा नेतृत्व गर्ने प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्रीले दुई पटकभन्दा बढि मौका नपाउने व्यवस्था कडाइका साथ लागू गरौं ।’

नेता पौडेले संघीय सदस्यको टिकट एकजनालाई ४ पटक मात्रै दिने व्यवस्था गर्नुपर्ने बताए । ‘संघीय सदस्यको टिकट एकजनालाई ४ पटक मात्रै दिने व्यवस्था गरौं । प्रदेशमा दुई पटक कायम गरौं,‘उनले भने,‘समानुपातिकको व्यवस्था नहटेसम्म एकपटकभन्दा दोहोरिने समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था हटाऔं ।’

उनले सदस्यता खोजेको व्यक्तिलाई मात्रै सदस्यता उपलब्ध गराउनुपर्ने बताए । पौडेलले राष्ट्रियसभाको सदस्य संख्या ३५ कायम गर्न माग गरे । उनले निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नहरेको भन्दै केही संवैधानिक प्रावधानहरूलाई संशोधन गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिए ।

समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनेगरी प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गर्नुपर्ने बताए । उनले भने,‘यसका लागि २०१ सिटमा निर्वाचन हुने व्यवस्था गरौं । यसभित्रै समानुपातिक प्रतिनिधित्वको हुनेगरी व्यवस्था सुनिश्चित गरौं ।’