काठमाडौँ । स्टेफनी क्या निर्णायक गोलप्रेरित अस्ट्रेलियाले फिफा महिला विश्वकप अन्तर्गत समूह ‘बी’मा बिहीबार रिपब्लिक अफ आयरल्यान्डलाई १–० को नतिजामा पराजित गरेको छ।
अस्ट्रेलियाको सिड्नीस्थित एक्कोर रंगशालामा भएको खेलको पहिलो हाफ गोलविहीन थियो। तर, दोस्रो हाफको ५१औं मिनेटमा आयरिस मिडफिल्डर मारिसा शेभाले घरेलु टिमकी हेली रासोलार्य पेनाल्टी एरियामा फाउल गरेपछि अस्ट्रेलियाले पेनाल्टी पाएको थियो।
घरेलु समर्थकअघि सोही पेनाल्टीलाई गोलमा परिणत गर्दै क्याट्लीले अस्ट्रेलियालाई अग्रता दिलाएकी थिइन्। सोही गोलसँगै लिएको अग्रता जोगाउँदै अस्ट्रेलियाले प्रतियोगितामा विजयी सुरुआत गर्यो।
न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपको समूह ‘बी’मा परेको अस्ट्रेलियन महिला टिमले जुलाई २७ मा नाइजेरियासँग खेल्ने छ।
यस्तै, समूह चरणको अन्तिम खेलमा अस्ट्रेलिया र क्यानडा ३१ जुलाईमा आमनेसामने हुनेछन्।आजै अक्ल्यान्ड भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलको नतिजामा पराजित गरेको थियो।
भोलि हुने खेलमा नाइजेरिया र क्यानडा, फिलिपिन्स र स्वीट्जरल्यान्ड तथा स्पेन र कोस्टारिका आमनेसामने हुनेछन्।
अस्ट्रेलियाकी प्रमुख खेलाडी सामन्था खेर आजको खेलमा उपस्थित थिइनन्। काल्फको चोटका कारण उनले समूह चरणका सुरुआती दुई खेल गुमाउने छिन्।
यद्यपि, सन् २००० मा भएको सिड्नी ओलम्पिकपछि अस्ट्रेलियाले आयोजना गरेको सबैभन्दा ठूलो स्पोर्टिङ इभेन्टमा आज कीर्तिमानी उपस्थिति थियो। आजको खेलमा ७५ हजार ७८४ दर्शक उपस्थित थिए। जुन अस्ट्रेलियामा कुनै पनि महिला फुटबल खेलमा भएको कीर्तिमानी उपस्थिति हो।