• जेष्ठ २७ २०८२, सोमबार

खाँणको बचाउ गर्दै कांग्रेस नेतृ घलेले भनिन्,‘आफ्नै साथीलाई पक्राउ गर्दा गृहमन्त्रीलाई बधाइ दिने ?’

श्रावण ३ २०८०, बुधबार

काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य राधा घलेले आरोप प्रमाणित नभएसम्म कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएकी छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणप्रति लक्षित गर्दै नेता घलेले अभियोग लाग्दैमा कोही पनि दोषी नहुने बताएकी हुन् ।

केन्द्रीय सदस्य घलेले आफ्नो नेताको बचाउमा उत्रेर साथ दिनुपर्नेमा पार्टीका नेताहरू विरोधमा उत्रिएको भन्दै गुनासो गरिन् । ‘पार्टीको एउटा नेतालाई, साथीलाई बिनाकारण समातेर लग्दैगर्दा आफ्नै पार्टीको साथीहरू संवेदनशील नहुनु । बरु गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हो,’ बैठकमा उनले प्रश्न गरिन् ।

उनले अरुलाई खाएको बाघले आफूलाई पनि खान्छ भन्ने बुझ्नु आवश्यक रहेको बताइन् । ‘एउटा साथीलाई दुःख पर्दा काँध हाल्न सक्दैनौं ? आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन,’ उनले भनिन्, ‘जबसम्म दोषी सावित हुँदैन, कमसेकम एउटालाई पर्दा हामीभित्रै साथीहरूले साथ दिँदैनौं भने एउटालाई खाने बाघलाई अरुलाई पनि खान्छ ।’

पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।