काठमाडौं । ठगी तथा बैंकिङ कसुर मुद्दामा दोषी प्रमाणित गर्दै सुनसरी जिल्ला अदालतले लालबहादुर विश्वकर्मालाई कारागार चलान गर्ने आदेश गरेको छ । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेश अनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो ।
जिल्लाले गरेको त्यही फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दासमेत फैसला नभएपछि लालबहादुरको पक्षमा इटहरीमा प्रदर्शन भएको छ । सुनसरी जिल्ला अदालतको आदेशपछि सुनुवाइको पर्खाइमा लालबहादुर छ महिनादेखि रामधुनीस्थित क्षेत्रीय कारागार झुम्कामा छन् ।
उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने भएकाले लालबहादुरको मुद्दामा सुनुवाइ सर्दै आएको छ । अदालती प्रक्रिया लम्बेतान भएको भन्दै इटहरीमा प्रदर्शन भएको हो ।