काठमाडौं । देशका विभिन्न जिल्लाहरुबाट विविध पेशाको सिलसिलामा काठमाडौंमा आएर बसेका मगर समुदायले यसपालिको साउने सकराती पर्व विविध कार्यक्रम गरि मनाउने भएका छन् ।
भोलि साउन १ गतेका दिन काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा पूर्वउपराष्ट्रपति नन्दबहादुर ‘पासाङ’द्वारा उद्घाटन गरिने ‘साउने सकराती-२०८०’ कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतिहरुको पनि आयोजना गरिएको छ । साउने सक्राती अर्थात् उधेली पर्व मगर समुदायको मौलिक पर्व हो । कार्यक्रमको आयोजक अथार मगरात मगर प्रतिष्ठान र मिडिया पार्टनरको रुपमा गोलबर डटकम रहेको छ ।
११ बजेदेखि सुरु हुने कार्यक्रमको सहआयोजक संस्थाहरुमा अथार मगरात कलाकार संघ, तकसेरा समाज, लुगुम्याल समाज, प्रकृतिपूजक मगर समाज, भूमे समाज, कोराल समाज, मगर सञ्जाल क्लब, सृजनशील महिला समाज, लुगुम्याल चेलिबेटी आमा समूह, उपत्यका पुनमगर समाज, थबाङ्गी समाज, नेपाल मगर संघ ओखलढुंगा -काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ पाल्पा-काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ बागलुङ काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ रोल्पा काठमाडौं सम्पर्क मिति र नेपाल मगर संघ अर्खाघाँची काठमाडौं समपर्क समिति रहेका छन् ।
कार्यक्रममा सहभागिता जनाउन आयोजक संस्थाले सबैमा आग्रह गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायका मानिसहरुले यसअघि पनि यो पर्व यसरी नै मनाउँदै आएका छन् । कार्यक्रममा नाचगान गरि रमाइलो गरिन्छ भने मिठा मिठा परिकारहरु पनि खाने चलन रहिआएको छ ।