• जेष्ठ २७ २०८२, सोमबार

विमानस्थलमा भएको भनिएको सुन तस्करीमा हाम्राे संलग्नता छैन : पूर्वसभामुख महरा

असार ३१ २०८०, आईतवार

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले त्रिभुवन विमानस्थलबाट भएको भनिएको सुन तस्करीमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

आज एक प्रेस नोटमार्फत् महराले ‘सुन तस्करसँग पूर्व सभामुख महराका बाउछोराको कनेक्सन’ भन्ने समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नोटमा महराले चिनियाँ नागरिक वाङसँग आफ्नो सामान्य चिनजान मात्र भएको, उनी आफू फलफूल व्यापारीको रुपमा नेपालमा रहँदै आएको बताएको तर उनको अन्य व्यापार र कामसँग आफ्नो कुनै पनि सम्बन्ध नभएको बताएका छन् ।

महराले आफ्ना छोरा राहुलको सम्बन्धमा पनि स्पष्टिकरण दिएका छन् । चिनजान हुनु र संलग्नता हुनु फरक कुरा भएको भन्दै महराले आफ्ना छोरालाई चिनियाँ नागरिकले भन्सारमा अड्किएको सामान बारे बुझ्न पठाएको, भन्सारका कर्मचारीले नियमअनुसार हुने  जानकारी आएको बताए ।

साथै महराले ती व्यक्तिसँग कुनै पनि संलग्नता नभएको र कुनै सहयोग पनि नगरेको नोटमा लेखेका छन् । साथै महराले केही सञ्चारमाध्यमा आफ्नो बारेमा आएको समाचार तथ्यहीन र राजनैतिक पूर्वाग्रहको आधारमा आएको बताएका छन् ।