• जेष्ठ १० २०८३, आईतवार

चट्याङबाट जुम्लामा ५० भेडा बाख्रा मरे

असार ३० २०८०, शनिबार

काठमाडौँ। जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।

असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ ।

भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउनमा समस्या भएको उनीहरुले बताए । किसान बोहोराले भने “यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो । ”