• जेष्ठ २७ २०८२, सोमबार

अमेरिकी सहायक विदेश मन्त्री लु र परराष्ट्र मन्त्री साउदबीच भेट

असार २९ २०८०, शुक्रबार

काठमाडौं । अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयन बारे चर्चा गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयन बारे चर्चा गरेका हुन् ।

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता, बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड-१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।

भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा समेत गरे । दुई देशको बीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान-प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो । लुले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट गरिसकेका छन् ।

उनी एमसीसी पास गराउन दबाब दिन नेपाल आएका हुन् । यसअघि नेपाल आएका अर्का अमेरिकी पदाधिकारीले पनि एमसीसी लागू गराउन दबाब दिएर फर्किएको समाचारहरु बाहिरएिका थिए ।