• जेष्ठ २६ २०८२, आईतवार

बालेनले रेनुलाई समवेदना दिँदै भने- परिवारमा अभिभावकत्व ग्रहण गर्ने क्षमता प्राप्त होस्

असार २७ २०८०, बुधबार

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नी आमा गुमाएकोमा समकक्षी रेनु दाहाललाई समवेदना प्रकट गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको थियो । रेनु भरतपुर

महानगरपालिकाकी मेयर पनि हुन् । सम्भवतः सोही कारण बालेनले आफ्नी समकक्षीलाई समवेदना प्रकट गरेका हुन् । ‘मेयर रेनु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु,’ बालेनले फेसबुकमा लेखेका छन् ।

बालेनले आफ्नो स्टाटसमा प्रधानमन्त्रीले सहयात्री तथा जीवनसंगिनी गुमाएको भन्दै आफ्नो परिवारलाई सम्हाल्ने क्षमता प्राप्त होस् भन्ने कामना पनि गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्रीसमेत रहनुभएका तपाईंका पिताले सहयात्री, जीवनसंगिनी गुमाउनुभएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु,’ बालेनले लेखेका छन् ।

उनले सीता दाहाललाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ बालेनले लेखेका छन् ।