काठमाडौँ । अवरुद्ध सदन खुलाउने बारे सिंहदरबारमा आइतबार भएको प्रमुख तीन दलका शीर्ष नेताबीचको सहमति एक घण्टा पनि टिकेन । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेको छलफलमा एमालेले संसदको अवरोध हटाउने र प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्ति बारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो ।
सोही सहमति अनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । तर सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष केपी ओली ‘यूटर्न’ भएको माओवादी केन्द्रका नेताहरूको भनाइ छ ।
‘सिंहदरबारमा सहमति गरेर निस्केको आधा घण्टापछि ओलीले फोन गरेर ‘भएन’ है भन्नुभयो । भएन भनेपछि उहाँले संसद् अवरोध गर्ने नै देखियो, त्यसैले आइतबारको बैठक स्थगित भएको हो’, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने । तर एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालकै आग्रहमा आइतबारको बैठक सोमबारलाई सारेको दाबी गरे ।
‘हामी त सहमतिअनुसार अघि बढ्न तयार थियौँ तर प्रधानमन्त्रीले नै सोमबारसम्म बैठक स्थगित गर्नु भनेर सभामुखलाई भन्नुभएछ’, प्रमुख सचेतक गिरीले भने । स्रोतका अनुसार सिंहदरबारबाट सहमति गरेर निस्केको आधा घण्टामै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई फोन गरेका थिए । ‘प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेको विषयमा अड्को थाप्नुभयो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ‘यो त अति भयो ।’
प्रेस सल्लाहकार आचार्यले प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रेस विज्ञप्ति जारी गरेका थिए भने मन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई राहत दिन ल्याएको अध्यादेश निष्क्रिय बनाउन एमालेले सदन अवरोध र प्रधानमन्त्रीको राजीनामा मागेको बताएका थिए । सोही विषयमा ओलीले आचार्यलाई हटाउन र श्रेष्ठलाई माफी मागे मात्रै सहमति कार्यान्वयन हुने अडान राखेका थिए ।
ओलीले अडान फेरेकै कारण आइतबार दिउँसो ३ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक सोमबार ३ बस्ने गरी सरेको थियो । यसैबीच एमाले सचिव योगेश भट्टराईले प्रतिनिधि सभा बैठक सारिएकोप्रति असहमति जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठक बस्दै नबसी सरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् असन्तुष्टि जनाएका हुन् । उनले आफूहरू प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ सुन्न संसद् भवन पुगेको भन्दै बैठक किन सारियो भनेर प्रश्न गरेका छन् ।