• जेष्ठ २६ २०८२, आईतवार

हाम्रो कारणले मिटरब्याज सम्बन्धि अध्यादेश निष्क्रिय भएको होइन : रवि लामिछाने

असार २३ २०८०, शनिबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग्ने बताएका छन् । पार्टीको प्रदेश समितिले रुपन्देहीको भैरहवामा शनिबार गरेको कार्यक्रममा उनले नेपाल प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अनुचित भएकाले जनतालाई प्रष्ट पार्नुपर्ने बताए ।

‘नेपाली जनताले निर्वाचित गरेर पठाएको मान्छेलाई नेपाली जानताले भोट हालेको, नेपाली जनताले प्रधनमन्त्री बनाएको, हाम्रो हस्ताक्षर छ, भारतले प्रधानमन्त्री बनायो ? कोही एउटा भारतको मान्छे प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न सकिँदैन, माग्छौं हामी जवाफ’ उनले भने ।

२० असारमा प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो । उक्त दिन यही विषयमा संसद अवरोध भएपछि मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन । त्यही कारण हाल उक्त अध्यादेश निष्क्रिय भएको छ ।

रास्वपा अध्यक्ष लामिछानेले आफूहरुका कारण उक्त अध्यादेश निष्क्रिय भएको भन्न नमिल्ने बताए । प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद सञ्चालन हुने आशा गरे पनि त्यस दिन सभामुखको भूमिका उचित नभएको उनले बताए ।

सरकारले नै अन्तिम दिनमात्र विधेयक ल्याएकाले मिटरब्याजसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक रोकिएको उनको दाबी छ ।