काठमाडौं । समाजवादी मोर्चा नेपालको प्रथम बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार आलोकनगरस्थितमा बसेको मोर्चाको बैठक चार सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा कार्यदलमा सदस्य छन् । यस कार्यदलले मोर्चाको नीति र आचारसंहिता तय गर्ने उपाध्यक्ष पाण्डेले बताए । मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए ।
मोर्चाको अध्यक्षमा ६-६ महिनामा परिवर्तन गर्नेबारे पनि छलफल भएको उपाध्यक्ष पाण्डेले बताए । कसले कहिले अध्यक्षता गर्ने भन्ने विषयमा असार २७ गते बस्ने बैठकले टुंगो लगाउने तयारी छ । त्यसैगरी मोर्चाबारे जानकारी दिन सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने पनि निणर्य भएको छ । मिति भने अर्को बैठकबाट टुंगो लगाउने मोर्चाको तयारी छ ।