• जेष्ठ २६ २०८२, आईतवार

यसरी नै सरकार चल्ने हो भने ०८४ मा जोसित मिलेर लडेपनि कांग्रेसले चुनाव जित्दैन : प्रदीप पौडेल

असार २३ २०८०, शनिबार

काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जुन पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरुबाट कांग्रेस डराउनुनपर्ने उल्लेख गरे ।

उनले कांग्रेसको मुख्य कुरा मिसन ०८४ हो भने अहिले सरकारमा भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्नुपर्ने बताए । नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह पनि गरे । पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले चुनावका बेला प्रतिस्पर्धीले सोही पार्टीका बिरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेको भन्दै आफ्नो प्रमाण आफैले पेस गर्ने काम नगर्न आग्रह गरे ।