• जेष्ठ २६ २०८२, आईतवार

काठमाडौं महानगरले माग्यो कक्षा ११ मा दिने छात्रवृत्तिको बिवरण

असार २२ २०८०, शुक्रबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले निजी कलेजहरुलाई कक्षा ११ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको बिवरण बुझाउन निर्देशन दिएको छ ।

एसईईको नतिजा सार्वजनिक भएलगत्तै महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन र त्यसको बिवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९-०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या यही असार मसान्तभित्र पठाउन निर्देशन दिइएको हो ।

यस्तै, महानगरपालिकाले कक्षा ११ को भर्नाका लागि कम्तीमा १५ दिनको आवेदन समय दिन पनि निर्देशन दिएको छ । कतिपय कलेजहरुले छोटो समय राखेर विद्यार्थी भर्नाको आवेदन खुलाउने गरेको र दूर दराजका विद्यार्थीहरु भर्ना हुने अवसरबाट बञ्चित हुने गरेको भन्दै महानगरपालिकाले आवदेनको समय कम्तिमा १५ दिन राख्न भनेको हो ।