• जेष्ठ २६ २०८२, आईतवार

नक्कली नागरिकता लिएको आरोपमा उपमेयर यादव पक्राउ

असार २० २०८०, बुधबार

जनकपुरधाम । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा नं-४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीमा पुगेका थिए तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनको पतिको खोजबिन भइरहेको छ ।

उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।