कास्की । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि यो विषय अहिले चर्चामा छ । एमालेनिकट अनेरास्ववियु र युवा संघले ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् । यी दुई संगठनले पोखरामा गण्डकी प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् ।
भित्र संसद चलिरहँदा बाहिर एमालेमा आवद्ध संगठनका नेताले चन्दा संकलन गरिरहेका थिए । संसद सकिएर बाहिर निस्किँदा निवर्तमान मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीसहितका सांसदहरूले चन्दा दिएका थिए ।
अधिकारीले राष्ट्रपतिका लागि भन्दै पाँच रुपैयाँ चन्दापेटिकामा हालिदिएका थिए । उनीपछि एमाले सांसद भीमबहादुर कार्की, प्रकाशबहादुर केसी, लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेल, भक्तबहादुर कुँवर, मित्रलाल बस्याल, यशोधा रिमाल, पद्मा जिसी लगायतले पनि चन्दा दिए ।
पोखरासहित प्रदेशभर अभियानमार्फत् उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी संयोजक आरके पोखरेलले बताए ।
राष्ट्रपतिले सस्तो लोकप्रियताको लागि उपचार खर्च आफै व्यहोर्न चाहेको भनिएको र पछि पैसा मागेको भन्दै अहिले उनको आलोचना भइरहेको छ । हिजोमात्र राष्ट्रपति पौडेलको उपचार खर्च भन्दै सरकारले ५५ लाख रकम निकासा गरिदिएको छ । यसअघि राष्टपति पौडेलले उपचार खर्च आफै व्यहोर्न बताएका थिए ।