• मंसिर १४ २०८१, शुक्रबार

‘लम्की स्किन’ रोग प्रभावित पशुलाई खोपको व्यवस्था गरी किसानलाई क्षतिपूर्ती दिन माग

असार १९ २०८०, मंगलवार

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले देशभर पशुहरुमा देखिएको लम्की स्किन रोग तत्काल नियन्त्रण गर्न सरकारलाई चेतावनी दिएको छ । सो संगठनका अध्यक्ष हरी श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो ।

श्रेष्ठले विज्ञप्तिमा सरकार जनताको सम्पतिको रक्षा गर्नतिर लाग्नुको सट्टा विदेशी साम्राज्यवादीहरुको चाकडीमा लागेको आरोप लगाएका छन् । ‘अहिले नेपालमा दलाल संसदीय वर्ग नेपाली किसान र मजदुरको समस्या हल गर्ने छोडेर साम्राज्यवादी र दलाल पुँजीवादको हनुमन्ते बनेको छ । आम नेपाली किसान विभिन्न समस्याले ग्रसित छन् । उनीहरुको समस्या हल हुन सकेको छैन । यो राज्य किसानको समस्या हल गरेर देश अत्मनिर्भर बनाउनुको साटो दलाल साम्राज्यवादीको उत्पादन भित्राएर देशलाई परनिर्भर बनाउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता रोगहरुको तत्काल नियन्त्रणमा लाग्नुपर्ने भन्दै विज्ञप्तिमा भनिएको छ,‘किसानहरु पशुमा विभिन्न रोग वर्डफ्लू स्वाइन फ्लू र अहिले लम्की स्किन जस्ता रोगबाट ग्रसित छन् । कृषि क्षेत्रमा समयमा मल, बीऊ र सिंचाइ छैन । बाढी पहिरोका कारण विस्तापित हुने अवस्था छ भने कृषि पेशबाट हात धुने अवस्थामा आएका छन् । तर यसतिर यो राज्यको ध्यान गएको छैन बरु उल्टै कानमा तेल हालेर बसेको छ । यस्ता रोगको तत्काल संकटकाल घोषणा गरेर उपचारमा लागिहाल्नु पर्नेमा मुकदर्शक भएर बसेको छ । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यान आकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘अहिले नेपालमा लम्पी स्किन रोग ७१ वटा जिल्लामा फैलिएको र करिव ५ लाख ५५ हजार पशु संक्रमित भइसकेको, २१ हजार पशु मरिसकेका छन् । यो रोगका कारण पहाडमा खेती लगाउने गोरु पनि विरामी हुँदा किसान ठुलो मारमा परेका छन् । यो रोगले दुध दिने गाई-भैंसीमा दुधको उत्पादन घट्ने, प्रजनन समस्या देखा पर्नेदेखि गर्भ तुइनेसम्मका समस्या देखा परेकोले किसानहरु पछिसम्म मारमा पर्ने अवस्था देखिएको छ । यसबाट आत्मनिर्भर भएको दुधमा संकट आउने अवस्था छ । यो रोगबाट हालसम्म करिव २७.२३ अर्बको क्षति भइसकेको तथ्यांक आएको छ तर यसलाई रोक्न कुनै पहल भएको छैन । यो रोगलाई महामारी घोषणा गरी तत्काल खोप तथा औषधि उपलब्ध गर्न, देशभरी प्राविधिक खटाई रोगबाट क्षति भएका सम्पूणर् किसानलाई क्षतिपुर्ति व्यवस्था गर्न दिन र रोग लाग्न भन्दा पहिला सम्पूणर् पशुलाई खोप लाउन, तत्काल खोप उपलब्ध गर्न माग गर्दछौं । यस्ता रोग आइरहने हुँदा कृषि विपत कोष खडा गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ । अन्यथा देशैभरीका किसान आन्दोलनमा उत्रन बाध्य हुनेछन् । यदि त्यस्तो अवस्था आएका त्यसको जिम्मेवारी सम्बन्धि निकाय हुनेछ ।’