काठमाडौं । ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै मंगलबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेका छन् । सुरक्षाकाे ग्यारेन्टी नभएसम्म काममा नफर्कने कर्मचारीहरुले अडान लिएका छन् ।
प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्च अदालत पुगेका ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले अहिलेकै अवस्थामा अदालत फर्किएर काम गर्न नसकिने बताएका छन्।
ललितपुर जिल्ला अदालतकी नायव सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले बुधबार साँझ कार्यकक्षमै हातपात गरेको विषय सार्वजनिक भएपछि अहिले अदालत र कानुन व्यवसायीबीच विवाद बढेको छ।
लामिछानेलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पनि अगाडि बढाएको थियो। तर अदालतमा कार्यरत कर्मचारीहरुले भने लामिछानेमाथि अदालतको अवहेलनामा समेत कारबाही हुनुपर्नेसहित माग राखेर आन्दोलन गरे।
अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका छन्। लामिछानेलाई कृत्रिम मुद्दामा फसाइएको दाबीसहित कानुन व्यवसायी पनि आन्दोलित बनेका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव सञ्जीता खनालले संयुक्त विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको विरोधमा देशभरका अदालतका बहस बहिस्कार गरिएको उल्लेख छ।