काठमाडौं । पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो ।
विसं २०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्याइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गासमेत अतिक्रमणमा परेको छ । बर्सेनि बसपार्कको जमिन खुम्चिँदै गएको छ ।
पर्यटकीय सहर पोखरामा सुविधासम्पन्न बसपार्क नहुँदा सडकपेटीबाटै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्नुपर्ने बाध्यता छ भने बसपार्कका लागि तोकिएको क्षेत्रबाट समेत सवारी साधन छुटेका छैनन् ।
पृथ्वी होटल व्यवसायी समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बसपार्कभित्रबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएका छन् ।
सडकमै बस पार्किङ गर्दा सडक अस्तव्यस्त र कुरुप भएकाले बस समितिले बसपार्कबाट गाडी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।