• जेष्ठ २६ २०८२, आईतवार

अब पाइपबाटै पेट्रोल आउने तयारी

असार १७ २०८०, आईतवार

काठमाडौँ। मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको छ । भवन निर्माणको काम ५० देखि ६० प्रतिशत सम्पन्न भएको र पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्याङ्कीको हकमा भने १० देखि १५ प्रतिशत मात्रै सम्पन्न भएको निगमले जनाएको छ । ‘भारतको बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ खर्च हुन्छ भने पाइपलाइनबाट ल्याउन सके प्रतिलिटर ५० पैसामात्रै खर्च हुने निगमले जनाएको छ । अम्लेखगञ्जदेखि २५० किलोमिटर टाढा रहेको भारतको बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजेल खर्च हुने गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख विनितमणि उपाध्याय बताउँछन् ।

आईओसीले ४१र४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५र५ हजार किलोलिटरको २ वटा ट्याङ्की निर्माण गर्दैछ । जसमा पेट्रोल र डिजेल भण्डारण गरिने छ । यही सालको डिसेम्बरसम्म काम सकेर जनवरी २४ भित्र विधिवत् रूपमा पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरेर पाइपलाइनबाट पेट्रोल ल्याउने काम सुरु गर्ने तयारी छ ।

अहिले आयल निगम अम्लेखगञ्ज डिपोमा जमिनमाथि १२ वटा डिजेल,पेट्रोल भण्डारण गर्ने ट्याङ्की रहेको छ । जसमा ३ वटा पेट्रोलको ट्याङ्की छ भने बाँकी डिजेलको हो । भण्डारण क्षमताको अभावमा अम्लेखगञ्ज डिपोले पूर्ण रूपमा (२४ सै घण्टा) पाइपलाइन सञ्चालन गर्न सकेको छैन । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ भने दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो । निगमले दोस्रो चरणको काम सम्पन्न भएर पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको ईन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड वार्षिक १ अर्ब ८० करोड बचत हुने देखिन्छ ।