• जेष्ठ २६ २०८२, आईतवार

दलित भन्दै घरबाट निकाल्ने घरधनीलाई जातीय छुवाछूतको मुद्दा लाग्यो

असार १६ २०८०, शनिबार

तुलसीपुर । दाङमा एक जना घरधनीले दलित भन्दै कोठाबाट निकालेपछि ती घरधनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका-१७ का घरधनी ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पोखरेलको घरमा बस्दै आएका अछामको पञ्चलदेवल विनायक नगरपालिका-७, पुल्तोलाका महेन्द्र विक र हुम्लाको अदानचुली गाउँपालिका-३ का अंगराज नेपालीलाई घर निकाला गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ घरधनीले त्यस्तो व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।

घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न संघ-संस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, दोषीमाथि कारबाहीको माग गरेका छन् ।