काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनको जिम्मेवारीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् ।
‘अढाइ शताब्दी लामो एकात्मक राज्य प्रणालीमा अभ्यस्त हाम्रा लागि संघीय शासन प्रणाली नितान्त नौलो अभ्यास भएको भन्दै दाहालले संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको सुसञ्चालन हाम्रा लागि चुनौतीपूणर् रहेको बताए । तर तीनै तहमा चुनिएर आएका जनप्रतिनिधिहरू सीमित स्रोतसाधनको सुझबुझपूणर् ढङ्गले परिचालन गर्दै विकास निर्माणका कामलाई अघि बढाउँदै जनताका आकांक्षा पूरा गर्न क्रियाशील रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको उनको भनाइ छ ।
उनले भने, ‘यस कार्यमा प्रदेश सरकारको नेतृत्व सम्हाल्नुहुने सबै माननीय मुख्यमन्त्रीज्यूहरूले खेल्नुभएको महत्वपूणर् भूमिकाको प्रशंसा गर्दछु ।’ प्रधानमन्त्रीले भने, ‘‘संविधान जारी भएको झण्डै सात वर्षको अवधिमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौं । तीनै तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भएको छ । सातै प्रदेशको प्रादेशिक राजधानी र नामाकरण भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण व्यवस्थित हुँदै गएको छ । कर्मचारी समायोजनको काम सम्पन्न भएको छ ।’