काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । यही जुन २८ र २९ तारिखमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन् ।
सातै महादेशका उच्च हिमशिखरहरूको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रुस प्रस्थान गरेका थिए ।
एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । रुसको दक्षिणी भेगमा ककेसस हिमशृंखलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमालमध्येको एक हो । चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए । जुन २९ को बिहान ९ बजे पाण्डेले एलब्रुस इस्टको पनि सफल आरोहण गरेका थिए । पाण्डेले एलब्रुसको शिखरमा चन्द्र–सूर्यअंकित नेपाली झन्डा फहराउनुका साथै नेपाल स्काउट तथा अन्य संघसंस्थाको झन्डासमेत फहराएका थिए ।
हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरूको आरोहणलाई विशेष मानिन्छ जसलाई सेभेन समिट भनिन्छ । पर्वतारोहणमा रहेका हजारौँ आरोहीमध्येमा निकै कम आरोहीले मात्रै यो सफलता आत्मसात् गर्न सकेका छन् । युरोपको हिमाल आरोहणपश्चात् यसै अभियानअन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताएका छन् ।
नेपाली युवा आरोही पाण्डेले सगरमाथासहित मनास्लु, आमादब्लम र आइल्यान्ड पिक हिमालको समेत आरोहण गरिसकेका छन् । सन् २०१६ देखि आरोहण सुरु गरेका पाण्डेले २०१८ मा सगरमाथाको आरोहण गरेपश्चात् नियमित हिमाल चढिरहेका छन् । उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको आरोहण गरेका थिए ।
नेपाल स्काउटका सदस्यसमेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाममा रहेको बेडेन पावेल स्काउट पिक दुईपटक आरोहण गरिसकेका छन् भने विदेशी स्काउटहरूलाई समेत उक्त हिमालको सफल आरोहण गराउन सफल रहेका छन् ।