काठमाडौं । युवा तथा खेलकुमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् । लिम्बु कांग्रेसका नेता हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नामकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए ।
उनले प्रदेशको नाम पुनःविचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताए । खेलकुद मन्त्री लिम्बूले कांग्रेसको गतिविधि शून्य रहेका बेलामा विभिन्न राजनीतिक पार्टीहरू च्याउजस्तै उम्रिएको बताए । उनले पार्टीको रुचिमा नपरेको मन्त्रालय आफूलाई दिइए पनि पर्याप्त बजेट नदिएकोप्रति असन्तुष्टि जनाए ।
खेलकुद मन्त्री लिम्बूले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसासमेत नभएको दाबी गरे । मन्त्री लिम्बूले अहिले कांग्रेसका गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका थिए ।