काठमाडौं । स्थानीय तह निर्वाचन सकिएको एक वर्षपछि पाँचथरको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचनमा टिकट लिन दुई करोड रकम बुझाएको दाबी गरिएको एउटा अडियो टेप सार्वजनिक भएको छ ।
अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणालाई उक्त पैसा बुझाएको दाबी गरिएको छ । काफ्लेको तर्फबाट आरजुलाई पैसा बुझाएको भनिएका व्यक्ति सन्तोष श्रेष्ठ हुन् । उनी हाल नेपाली कांग्रेस पाँचथरका सहसचिव छन् ।
निर्वाचनमा कांग्रेसका तर्फबाट फिदिम नगरपालिका प्रमुखका एक जना दाबेदार प्रकाश गुुरुङसँग श्रेष्ठले सम्वाद गरेका हुन् । त्यहाँ गुरुङले श्रेष्ठलाई भान्जा भनेका छन् ।
उनै भान्जा भनिएका श्रेष्ठले नगरपालिका प्रमुखका अर्का दाबेदार काफ्लेबाट दुई करोड अर्थात् ‘दुई खोका’ आरजुलाई दिइसकेको बताएका छन् । तर, गुरुङले भने टिकट नपाउँदा दुःखी भए पनि घुमाउरो शैलीमा ‘ठीक छ, मिसन सक्सेस् भान्जा’ भनेको अडियोमा सुनिन्छ । श्रेष्ठले भने गुरुङलाई भेट्न र कहाँ आउनुपर्छ ? भनेर सोध्दा गुरुङले ‘टेन्सन नमान, हाम्रो आइहाल्यो त अनि’, भनेका छन् ।
गुरुङलाई फकाउने शैलीमा श्रेष्ठले ४ नम्बर (फिदिम-४ को वडाध्यक्ष) को निणर्य नगरिएको भन्दा गुरुङले फेरि सोधेका छन्, ‘दुई करोड क्यास नै आरजु राणालाई नै पुर्याएको हो नि ?’
श्रेष्ठले ‘अँ, आरजुलाई नै हो’, भनेका छन् ।
यो अडियोमा कुरा गर्नेमध्येका एक जना कांग्रेस पाँचथरका सहसचिव श्रेष्ठले अडियो सम्वाद सम्पादित भएको प्रतिक्रिया दिएका छन् । उनले डा. आरजु कहाँ टिकटबारे कुरा गर्न पुगिएको तर दुई करोड पुर्याइएको झुटो भएको दाबी गरेका छन् । ‘भिडियो सम्पादन गरिएको हो । यसप्रति मेरो ध्यानाकर्षण भएको छ’, श्रेष्ठले भने, ‘आरजु देउवासम्म टिकटको कुरा पुगेर फाइनल भयो भन्ने हो । पैसा पुग्यो भन्ने कुरा होइन । त्यसकारण मेरो आपत्ति छ ।’
यस्तो छ, प्रकाश गुरुङ र सन्तोष श्रेष्ठबीचको पूरा अडियो सम्वाद
प्रकाश गुरुङ (मामा) : दुई मात्रै पठाइदिनु भन्याथे ?
सन्तोष श्रेष्ठ (भान्जा) : एकदम मामा एकदम ।
प्रकाश गुुरुङ : दुई खोका होइन दुई खोका ?
सन्तोष श्रेष्ठ : एकदम, एकदम ।
प्रकाश गुरुङ : ल हुन्छ । हुन्छ अनि भान्जा मिसन सक्सेस् ।
सन्तोष श्रेष्ठ : मिसन सक्सेस भयो मामा । अहिले कहाँ हुनुहुन्छ ? म भेट्छु नि एकछिन् ।
प्रकाश गुुरुङ : भान्जा हुन्छ । मिसन सक्सेस भयो । ल धन्यवाद ।
सन्तोष श्रेष्ठ : कहाँ आउनुपर्छ म भन्नु त ल ।
प्रकाश गुुरुङ : हैट ! टेन्सन नमान न ।
सन्तोष श्रेष्ठ : अनि सुन्नु न मामा । त्यो ४ नम्बरको निणर्य गरेको छैन कि मामा ।
प्रकाश गुुरुङ : ठीक छ त । तिमीहरूले भनेको मानें त । सकेन अनि ? मिसनमा हामी जसरी पनि सक्सेस भयौं । मित्र बालाई पुर्याइहाल्यौं । मित्र बा (मित्रप्रसाद काफ्ले) पुगे नि, म पुगे नि पुगिहालियो । दुई करोड नभएको भए हामी पुग्ने थिएनौं नि ।
सन्तोष श्रेष्ठ : हो त । दुई नभएको भए पुगिदैनथ्यो । अब कार्यपालिकामा चाहिँ मामा बहुमत हुने भयो ।
प्रकाश गुरुङ : दुई करोड चाहिँ क्यासै लगेको ?
सन्तोष श्रेष्ठ : हजुर ।
प्रकाश गुुरुङ : आरजुलाई नै पुर्याइदियौ नि ? आरजु राणालाई ?
सन्तोष श्रेष्ठ : कसलाई ?
प्रकाश गुुरुङ : आरजुलाई नै पुर्याइदियौ नि ?
सन्तोष श्रेष्ठ : के बिहानको कुरा मामा ?
प्रकाश गुरुङ : अँ
सन्तोष श्रेष्ठ : अँ आरजुले नै हो ।
प्रकाश गुरुङ : ए ल ल ।
सन्तोष श्रेष्ठ : ढाडेलाई तह लगाइयो कि मामा… ।
प्रकाश गुुरुङ : अँ पिएलाई पनि फोन गरेको थिएँ कि मैले ।
सन्तोष श्रेष्ठ : अँ, ढाडेलाई तह लगाइयो । अब ४ नम्बर वडामा चाहिँ मामा तपाईं आउनुपर्छ क्या मामा ।
प्रकाश गुरुङ : ल भान्जा ल । टेन्सन नमान ।
सन्तोष श्रेष्ठ : तपाईंको नाम निणर्य गर्छौं है मामा ।
प्रकाश गुरुङ : हुन्छ । ल हस् ल । ल जय नेपाल मेरो भान्जा । जय नेपाल ।
सन्तोष श्रेष्ठ : ल ।
शिलापत्रबाट ।