काठमाडाैं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् ।
बुधवार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रूपमा सञ्चालन हुन नसकेको बताए । उनले स्वास्थ्य बीमालाई जन्जिरले बाँधिएको भन्दै यसलाई खोलेर मात्रै प्रभावकारी रूपमा बोर्डले काम गर्न सक्ने बताए ।
कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमामा ७ वर्षसम्म काजमा कर्मचारी ल्याएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै काजमा कर्मचारी राखेर अपेक्षाअनुसारको काम गर्न नसकिने बताए । उनले नेपालको स्वास्थ्य बीमा योगदानमा आधारित कार्यक्रम भएको बताए ।
कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभई आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्नेगरी प्रभावकारी रूपमा काम गर्न आवश्यक नीति, नियम बनाउन आवश्यक रहेको बताए ।