• जेष्ठ २६ २०८२, आईतवार

विप्लव र विचार मिल्नेसँग पार्टी एकताको एजेन्डासहित तय गरिएको माओवादी केन्द्रीय समितिको बैठक सारियो किन ?

असार १२ २०८०, मंगलवार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लगायत पूर्वमाओवादी पृष्ठभूमिका दल, कम्युनिस्ट विचारधारा मिल्नेसँग पार्टी एकताको एजेन्डासहित तय गरिएको नेकपा (माओवादी केन्द्र)को पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक सारिएको छ ।

यसअघि यहीँ असार २३ देखि २५ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सारिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को बजेटको क्लोजिङ र संघ, प्रदेश, स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजत बजेट पारित, उत्पादनसँग जोडिन किसानहरू मेलो (कृषिकर्म)मा फर्किने समय भएकाले पूर्वनिर्धारित बैठक सारिएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

वर्तमान प्रमुख सत्तारूढ दल माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा यसपटक केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र विभिन्न आयोगका सदस्यहरूसहित झन्डै सात सयभन्दा बढीको सहभागीता गराउने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

उनका अनुसार केन्द्रीय सदस्य ३८६ जना र वैकल्पिक केन्द्रीय सदस्य २०२ जना गरी कूल केन्द्रीय समिति ५८८ सदस्यीय रहेको छ । माओवादी केन्द्रले तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशमा संगठन विभाजन गरेको छ । यी सबै विभागका पदाधिकारी र सदस्यहरूको उक्त बैठकमा उपस्थिति हुनेछ ।

२०७८ को पुषमा सम्पन्न माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशन सकाएयता पाँचौँ पटकसम्म केन्द्रीय कमिटीको बैठक बसेको थियो । तीनपटक केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाडौंमा बसेको थियो भने त्यसयता भौतिक उपस्थितिमा बैठक बस्न सेकेको थिएन । तर, दुईपटकसम्म भर्चुअलमाध्यमबाट केन्द्रीय समितिको बैठक बसेको सचिव ढकाल बताउँछन् ।

त्यसयता स्थानीय तह, संघ र प्रदेशको निर्वाचनको चटारोले बैठक बस्न नसकेको माओवादी केन्द्र बताउँछ । तथापि उसले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुष ११ गते प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भर्चुअलमाध्यमबाट पाँचौपटक बैठक आह्वान गरेको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डको कार्यसम्पादनमा पार्टीले खेल्ने भूमिका, एमाले–माओवादीलगायत अन्य दलसहितको सत्ता गठबन्धनको गृहकार्य र पार्टीबाट मन्त्रीमदमा को–कसलाई मन्त्रिपरिषदमा सिफारिस गर्नेलगायतका विषयमा निर्णयार्थ छलफल भएको थियो ।

त्यसयता कुनै पनि बैठक बस्न सकेको थिएन । किनकि प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको दुई महिना पश्चात् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र उपनिर्वाचन सम्पन्न गर्नु थियो । जसका कारण पार्टी केन्द्रीय समितिको बैठक बस्न नसकेको बताइएको छ ।

अब बस्ने केन्द्रीय समितिको बैठकले विप्लव नेतृत्वको पार्टी नेकपा, पूर्वमाओवादी पृष्ठभूमिका पार्टीहरू र विचारधारा मिल्नेसँग एकता गर्ने एजेन्डा तय गरेको छ ।

त्यस्तै भर्खरै गठन गरिएको समाजवादी मोर्चाबारे बृहत् छलफल गर्ने एजेन्डासमेत तय गरिएको छ । माओवादी केन्द्रले यसैलाई नै मुख्य एजेन्डा बनाएको छ भने पार्टीका आगामी रणनीतिबारेमा पनि बृहत् छलफल गर्ने बताइएको छ ।

समाजवादी मोर्चामा आवद्ध नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका कम्युनिस्ट विचारधारा मिल्नेसँग दलगत एकताका लागि पनि छलफल गर्ने भएको छ । यी दलका शीर्ष नेतृत्वले पार्टी एकताका लागि तत्परता देखाए एकताको बहस बैठकमै हुनसक्ने बताइएको छ ।

अब बस्ने माओवादी केन्द्रको यो छैटौँ केन्द्रीय समितिको बैठक हो । बैठक बस्नु अगावै भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका संगठनलाई निर्देशनसमेत दिइसकेको छ ।

बैठकमा पार्टीलाई प्रभावकारी ढंगले जनतासमक्ष जोड्ने, नयाँ अभियान र कार्ययोजना सञ्चालन गर्ने लगायतका विषयमा छलफल हुने भएको छ । पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, शीर्ष नेतृत्व तथा पदाधिकारीको कार्यविभाजन टुङ्ग्याउने एजेन्डासमेत बैठकमा समेटिने छ ।

पूर्वनिर्धारित बैठक बस्न नसक्ने स्थिति देखाउँदै माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक आगामी साउन १७ देखि १९ गतेसम्मका लागि समय निर्धारण गरेको छ ।