काठमाडौं । स्विजरल्याण्डको जेनेभामा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन मन्त्रीसँगै गएका ट्रेड युनियनका नेता उतै बसेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगै गएका मधेश ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का नेपाल नफर्केका हुन् । ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ जेठ २२ देखि असार १ सम्म स्विजरल्याण्डको जेनेभामा सम्पन्न भएको थियो ।
सो सम्मेलनमा मन्त्री भण्डारीसँगै २४ जना नेपालबाट सहभागी थिए । मन्त्रिपरिषदले नेपालको तर्फबाट श्रममन्त्रीको नेतृत्वमा सहभागी हुनेगरी सहसचिव डण्डुराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र ट्रेड युनियनको तर्फबाट विनोद श्रेष्ठको नाम मनोनयन गरेको थियो । तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जेठ १० र १७ मा थप २० जनालाई सहभागी गराउने निणर्य गरे ।
मन्त्रीस्तरीय निणर्य अनुसार थपिएका २० जनालाई ‘आफ्नै स्रोतबाट सम्पूणर् खर्च ब्यहोर्न’ भनिएको थियो । भ्रमण टोलीमा सहभागी २४ जनामध्ये १९औं नम्बरमा कुलबहादुर खड्काको नाम छ । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि सहभागी थिए ।
प्रतिनिधिसभाका पूर्व सदस्य निर्जला राउत सहित २४ जनामध्ये २३ जना सम्मेलन सकेर फर्के पनि खड्का फर्केनन् । मन्त्रालय स्रोतका अनुसार असार १ सम्मका लागि जारी भएको भिसाको म्याद सकिएको छ । मधेश ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष पल्टन ठाकुरले आफूले खड्कालाई जेनेभा जान सिफारिस गरेको बताए ।
ठाकुरले भने, ‘सिफारिस गरेको थिएँ तर, उहाँको बारेमा अरु कुरा मलाई थाहा भएन ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मन्त्रिपरिषदले ४ जनालाई जेनेभा जान स्वीकृति दिएको बताए । मन्त्री भण्डारीले भने, ‘चार जना बाहेक अरु आफ्नै ढंगले गएका हुन्, त्यसबारे मलाई थाहा भएन ।’