काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । बैठक यहीँ असार २३ देखि २५ गतेसम्म संघीय राजधानी काठमाडौंमा आह्वान गरिएको हो ।
लगातार तीन दिनसम्मका लागि आह्वान गरिएको बैठकमा पार्टी केन्द्रीय समिति सदस्यहरूको उपस्थिति हुने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र विभिन्न आयोगका सदस्यहरूसहित झन्डै सात सयभन्दा बढीको सहभागीता हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।
ढकालका अनुसार केन्द्रीय सदस्य ३८६ जना र वैकल्पिक केन्द्रीय सदस्य २०२ जना गरी कूल केन्द्रीय समिति ५८८ सदस्यीय रहेको छ । माओवादी केन्द्रले तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशमा संगठन विभाजन गरेको छ । यी सबै विभागका पदाधिकारी र सदस्यहरूको उक्त बैठकमा उपस्थिति रहने छ ।
माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशन २०७८ पुषमा सम्पन्न गरेयता पाँच पटकसम्म केन्द्रीय कमिटीको बैठक आह्वान गरेको थियो । तीनपटक केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो । तर, त्यसयता भौतिक उपस्थितिमा बैठक आह्वान गरिएको छैन । यद्यपि दुईपटकसम्म भने भर्चुअलमाध्यमबाट बैठक बसेको थियो ।
त्यसयता बैठक बस्न सकेको थिएन । यसअघि सम्पन्न स्थानीय तह, संघ र प्रदेशको निर्वाचनको व्यस्तताले बैठक बस्न नसकेको माओवादी केन्द्र बताउँछ । तथापि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुष ११ गते प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भर्चुअलमाध्यमबाट पाँचौपटक बैठक बसेको थियो । सो बैठक बसेयता कुनै पनि बैठक बस्न सकेको छैन । राष्ट्रपति तथा उपराष्ट्रपति र उपनिर्वाचनका कारण बैठक बस्न नसकेको बताइएको छ ।
यसपटक बस्ने केन्द्रीय समितिको बैठकले विचार मिल्नेसँग दलगत एकता, एक साता पहिले गठन गरिएको समाजवादी मोर्चाबारे बृहत् छलफल गर्ने एजेन्डा नै तय गरेको छ । उसले यसैलाई नै मुख्य एजेन्डा बनाएको छ भने पार्टीका विभिन्न विषयमा पनि छलफल गर्ने बताइएको छ । यो बैठक छैटौँपटकका लागि आह्वान गरिएको हो ।
माओवादी केन्द्रले आह्वान गरेको केन्द्रीय समितिको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकताको विषयलाई पनि मुल एजेन्डा बनाएको छ ।
त्यस्तै उसले समाजवादी मोर्चामा आवद्ध नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका विचार मिल्नेसँग दलगत एकताका लागि पनि छलफल गर्ने भएको छ । यी दलका शीर्ष नेतृत्वले पार्टी एकताका लागि तत्परता देखाए एकताको बहस बैठकमा हुनसक्ने बताइएको छ ।
खास गरी यस (छैटौँ)पटक बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा माओवादी केन्द्रले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका संगठनलाई निर्देशन दिने भएको छ ।
त्यसैगरी पार्टीलाई प्रभावकारी ढंगले जनतासमक्ष जोड्ने, नयाँ अभियान र कार्ययोजना सञ्चालन गर्ने लगायतका विषयमा छलफल हुने भएको छ । पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, शीर्ष नेतृत्व तथा पदाधिकारीको कार्यविभाजन टुङ्ग्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।
पाँचौ पटकसम्म बसेको केन्द्रीय समितिको बैठकमा पार्टीको विगतको समिक्षा र केही रणनीतिक योजनाका बारेमा छलफल भएको थियो । छैटौँपटक बस्न लागेको बैठकमा भने विशेष गरी विप्लव नेतृत्वको नेकपासँगको एकताको विषयमा गहन छलफल हुने पार्टीका शीर्ष नेताहरू बताउँछन् ।
विप्लवले पनि पछिल्लो समय माओवादी केन्द्रसँग एकताका लागि सकारात्मक भएको बुझिएको छ । नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्माले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि आगामी दिनमा एकता हुनेसक्ने संकेत गरेका छन् ।
उनी भन्छन्, ‘माओवादी केन्द्र र नेकपाको पृष्ठभूमि एउटै छ । हामीलाई १० वर्षे सशस्त्र संघर्षले जन्माएको हो । हामी संघर्षको गर्भबाट जन्मेका कम्युनिस्ट एउटै पार्टीमा अट्नु राम्रो पक्ष हो । तर, विगतदेखि त्यसो हुन सकेका छैनौँ । भविष्यमा के हुन्छ । यसै भन्ने सक्ने अवस्था छैन । यद्यपि माओवादी र हामी ढिलो चाँडो एउटै पार्टीमा पनि हुनसक्छौँ ।’
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भर्खरै अनलाइन खबरलाई दिएको अन्तर्वार्तामा पनि नेकपाका महासचिव विप्लवलाई शीर्ष नेतृत्वमा स्वीकार्न सक्ने बताएका छन् भने हिमालय टेलिभिजनमा दिएको अन्तर्वार्तामा विप्लव आफू माओवादी केन्द्रमा अट्ने संकेत गरेका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कान्तिपुर टेलिभिजनमा दिएको अन्तर्वार्तामा पनि विप्लवको प्रशंसा गरेका छन् । आजभन्दा १० वर्ष पहिले तत्कालीन माओवादीबाट विभाजन हुँदा प्रचण्डको कटु आलोचक विप्लव नै थिए । तथापि समयक्रमसँगै यी दुवै जना पुनः मिलनको विन्दुमा आइपुगेका छन् ।