• जेष्ठ २७ २०८३, बुधबार

पशुपतिको सुनको जलहरीको तौल १०७ केजी ४६८ ग्राम मापन

असार ११ २०८०, सोमबार

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सोमबार बिहान सुनको जलहरीको तौल लिइएको हो।

मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४६८ ग्राम मापन भएको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको छ। अख्तियार स्रोतले जलहरीको तौल लिइएको बताए पनि यकिन तौलबारे भने उल्लेख गर्न चाहेन।

‘जलहरीको तौल १०७ किलोभन्दा अलिकति बढी छ। यकिन विवरण केही समयमा सार्वजनिक गरिन्छ होला,’ अख्तियार स्रोतले भन्यो। पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा सुनको जलहरी राखिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपति मन्दिरमा संकल्प पूजा गरेर सुनको जलहरी राख्ने बताएका थिए।

ओलीको घोषणाअनुसार नै तत्कालीन अवस्थामा १०८ किलो सुन प्रयोग गरेर मूल शिवलिङ्गमा जलहरी राख्ने निर्णय भएको थियो। तर, ११ किलो सुन गायव पारिएको भन्दै २ वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो।