• जेष्ठ २७ २०८२, सोमबार

लागू औषधको प्रयोग नेपालमा समस्याको रुपमा देखा पर्दै आएको गृहमन्त्री श्रेष्ठको भनाई

असार ११ २०८०, सोमबार

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध प्रयोग नेपालमा समस्याको रुपमा देखा परेको भन्दै नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन् ।

सोमबार लागुऔषध दुरुपयोग गतथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको भन्दै गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएको पाइएको बताए ।

गृहमन्त्री श्रेष्ठले लागुऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको बताए । उनले नेपालमा लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको बताए । उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए ।

गृहमन्त्री श्रेष्ठले लागुऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले संवद्ध निकायको समन्वय र सहकार्यबाट लागुऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनःस्थापना, जोखिम न्युनिकरण, बिरामीको सामाजिक पुनःस्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मुल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको बताए ।