• जेष्ठ २७ २०८२, सोमबार

चित्त बुझ्ने काम नगरे यो गठबन्धन फेर्न सकिन्छ : गगन थापा

असार ९ २०८०, शनिबार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन ठिक ढंगले चलने र चित्त बुझेन भने फेर्ने कुरा नौलो नभएको बताए ।

उनले नेपाली कांग्रेसले सरकार छोड्नु पर्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । उनले सरकार छोड्नपरे पनि एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।

उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न पनि आग्रह गरे । ‘हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन्,’ उनले भने, ‘हाम्रो हाउस समावेशी बनाऔँ तर निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ ।’