• जेष्ठ २७ २०८२, सोमबार

हिन्दी फिल्मलाई लिएर अदालत र बालेनबीच बढ्यो सिधा टक्कर

असार ७ २०८०, बिहीबार

काठमाडाैं ।  हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो ।

भारतीय फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ छ । यसैबीच अदालतको फैसलाप्रति काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।
भारतीय फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नेपालप्रतिको नियत प्रष्ट हुने शाहको भनाई छ ।

‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् ।

यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’