काठमाडौँ । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको विषयमा सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने तयारी गरेकोप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएका आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ हो ।
सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूतिको रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख छ ।
ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा प्रयुक्त उक्त संवादलाई हटाएर सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेको छ । तर काठमाडौँका मेयर बालेन्द्र शाहले चाहिँ भारतमा नसच्चाएसम्म काठमाडौं महानगरभित्रका हलमा प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन् ।