• जेष्ठ २८ २०८२, मंगलवार

केपी ओलीको प्रश्न, ‘लिभिङ टुगेदर चलेकै थियो त, फेरि मोर्चा किन ?’

असार २ २०८०, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चा गठनको तयारी भइरहँदा ओलीले भने त्यसको औचित्य नरहेको बताएका हुन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ‍ओलीले समाजवादी मोर्चा केबल एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउनका लागि बन्न लागेको पनि बताए ।

‘अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्को काँग्रेस तर्साउन,’ उनले भने,’ लिभिङ टुगेदर चलेकै थियो त फेरि अर्को किन ?’
उनले ती पार्टीमा भएका व्यक्तिहरूलाई आफूले राम्ररी चिनेको बताउँदै जुनसुकै मोर्चा बनेपनि डराउन आवश्यक नरहेको बताए ।

त्यस्ता गठबन्धन र मोर्चाले केहीबेर एमालेलाई सत्ताबाहिर राख्नसम्म सक्ने ओलीको भनाई थियो ।
‘एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ,’ उनले भने, ‘२०८४ सम्म हुनसक्छ हामी अब मिसन ०८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन ।’