काठमाडौं । नेपाल मगर संघको आयोजनामा आगामी असार १,२ र ३ गते काठमाडौंमा भूमे/भूम्या पर्व २०८० मनाइने भएको छ । ३ दिनसम्म विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी मनाइने भूमे पर्वमा सहभागी हुनको लागि सबैलाई आग्रह गरिएको छ ।
असार १ गते काठमाडौंको खुलामञ्चमा एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको उद्घाटन गर्नेछन् । आज काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरी सो कुराको जानकारी दिइएको हो । ३ दिनसम्म चल्ने समारोहको व्यवस्थापन भूमे पर्व प्रतिष्ठानले गर्नेछ ।
तथ्यांक कार्यालयले हालै मात्र नेपालका पुनमगरहरुको छुट्टै तथ्यांक निकालेर पुनलाई अलग जातिको सूचीमा राखेकोमा त्यसको विरोधस्वस्प १ गते माइतीघर मण्डलाबाट विरोध र्याली निकालिने छ ।
सो विरोध र्याली सहिद गेटहुँदै खुलामञ्चमा गइ सभामा परिणत हुनेछ । ३ दिने सो कार्यक्रमको पहिलो दिनको दिउँसो १ बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्नेछन् भने असार ३ गते साँझ ४ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले समापन गर्ने मगर संघका महासचिव टेकबहादुर नामजालीमगरले जानकारी दिए । नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले ३ दिनसम्म मनाइने भूमे पर्वमा सहभागी हुन सबैलाई आग्रह गरे ।