काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै चरम वेतिथी र विकृति मौलाउँदै गएको छ । जसको एउटा उदाहरण हो तनहुँको देवघाट गाउँपालिका ।
देवघाट गाउँपालिकाले मृत्यु भइसकेको व्यक्तिले पैसा बुझेको रिपोर्ट सार्वजनिक भएपछि अख्तियारले सो विषयमा पत्र काटेर स्पष्टीकरण सोधेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय पोखराले बुधवार सामाजिक सुरक्षा भत्तालाई लिएर तनहुँको देवघाट गाउँपालिकालाई मृत्यु भएको व्यक्तिले कसरी भत्ता बुझे भनी प्रश्न गरेको छ । मृत्यु भइसकेका व्यक्तिहरुको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको उजुरी परेपछि अख्तियारले स्पष्टीकरणसहितको प्रमाणित कागजपत्र पठाउन गाउँपालिकालाई निर्देशन दिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा सामाजिक सुरक्षा भत्ता दिँदा गाउँपालिकाले मृत्यु भइसकेका बैंक खातामा २४ हजार ४०० रुपैयाँ पठाएर राज्यकोषलाई हानी नोक्सानी गरेको उजुरीमा उल्लेख छ।
‘के कसरी मृत्यु भएका व्यक्तिको खातामा रकम निकासा गरिएको हो? विस्तृत व्यहोरा खुलाई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्रतिक्रियासहित प्रमाणित कागजातहरुको प्रतिलिपि पठाइदिनुहुन अनुरोध छ’, अख्तियारले सोधेको स्पष्टीकरणमा भनिएको छ।