काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा दर्ता भएको उजुरीमाथि बुधबार छलफल हुँदैछ। संसदीय सुनुवाई विशेष समितिले कार्कीमाथि परेको उजुरी र उजुरीकर्ताहरुसँग छलफल गर्न लागेको हो। कार्कीविरुद्ध सामूहिक र व्यक्तिगत गरी २९ थान उजुरी दर्ता भएको छ।
जसमध्ये ५ उजुरी इमेलमार्फत आएका छन् भने २४ वटा उजुरी लिखित आएका थिए। उजुरीमा कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति हुन अयोग्य रहेको दाबी गरिएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिविरुद्ध जोकोहीले पनि उजुरी दिन सक्ने व्यवस्था छ।
बुधबार उजुरीमाथि छलफल गरेपछि बिहीबार समितिले सुनुवाइ गर्दै अनुमोदनको निर्णय गर्ने तयारी गरेको छ। कार्की प्रधानन्यायाधीशको रुपमा साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। संघीय संयुक्त संसद्को नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ।