• जेष्ठ २७ २०८२, सोमबार

उपेन्द्रको चतुर्‍याइँ : आफू निर्वाचित भए पश्चात् चुनावमा अन्तरघात गर्नेमाथि कारबाहीको डण्डा

जेष्ठ २९ २०८०, सोमबार

काठमाडौं । २०७९ मंसिर ४ मा देशभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पश्चात् जनता समाजवादी पार्टी (जसपा) नेपालले सोचेजस्तो परिणाम ल्याउन सकेन ।

अपेक्षा गरेभन्दा कम मतपरिणाम आएपछि जसपाले पार्टी शुद्धीकरण गर्नुपर्ने निष्कर्ष निकाल्यो । अध्यक्ष उपेन्द्र यादव स्वयम् प्रतिनिधिसभाको निर्वाचनमा पराजित भए । सप्तरी–२ बाट यादव जनमत पार्टी अध्यक्ष चन्द्रकान्त रावत (सिके)सँग भारी मतान्तरले पराजित भएपछि पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै छानबिन गर्नुपर्ने निष्कर्षमा पुगे ।

त्यसपछि पुष पहिलो साता जसपा कार्यकारिणी समितिको बैठक आह्वान गरिएको थियो । उक्त बैठकमा पार्टीभित्रैका नेताहरूबाट अन्तरघात भएको भन्दै यादवले छानबिन गरि कारबाही गर्नुपर्ने निर्देशन दिए । उनको निर्देशन बमोजिम बैठकले अन्तरघात गर्नेमाथि कडा कारबाही गर्ने निर्णय गर्यो ।

उक्त निर्णय भएको झन्डै आधा वर्ष अर्थात् ६ महिनापछि निर्वाचनमा अन्तरघात गर्नेमाथि कारबाही गर्ने निष्कर्षमा पुगेको छ, जसपा । जसका लागि लगत्तै कार्यकारिणी बैठक बस्दैछ । यद्यपि महिनै पिच्छे बैठक नबसेको होइन । तर, बैठकमा यस विषयमा कुरा उठेपनि अध्यक्ष उपेन्द्रले नै कारबाही विस्तारै गरौँला भन्दै टारेको स्रोत बताउँछ ।

निर्वाचनमा अन्तरघात गर्नेमाथि कारबाही गर्न अध्यक्ष यादव नै किन पछि हटे ?

उपेन्द्र निर्वाचनमा पराजय भएको महिना दिनभित्रै पार्टी कार्यकारिणी बैठक बोलाका थिए । उनले उक्त बैठकमा निर्वाचनमा अन्तरघात गर्ने पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने बताएका थिए । सोही बमोजिम बैठकमा निर्णय पनि नगराएका होइनन् ।

तर, निर्णय भएको झन्डै ६ महिना गुज्रिँदा पनि अध्यक्ष उपेन्द्रले कसैलाई कारबाही गरेनन् । छानबिनका लागि उनले कुनै संयन्त्र पनि अपनाएनन् । समिति गठनमात्रै गरेर औपचारिकता निभाए ।

किनकी उनले आफ्नो पार्टीका प्रतिनिधिलाई उपराष्ट्रपतिमा निर्वाचित गराउनु थियो भने आफू स्वयम् उपनिर्वाचनमा विजयी हुनु थियो । यहीँ चतुर्याइँका साथ उनले निर्वाचनमा अन्तरघात गर्ने कोहीकसैमाथि कारबाही नगरेको हुनसक्ने आकलन गरिएको छ । यद्यपि उपेन्द्रले यस विषयमा कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् ।

उनको चतुर्याइँले पनि सार्थकता पाएको छ । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपेन्द्रले जसपाको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाए । उक्त निर्वाचनमा उनले सत्ता गठबन्धनको बलियो साथ पनि पाए । र, यादवलाई उपराष्ट्रपतिमा विजयी गराउन उनी सफल पनि भए ।

बारा–२ जसपाको निकै बलियो पकड भएको मानिन्छ । यहीँ बुझेका उपेन्द्रले उपराष्ट्रपतिमा रामसहायप्रसादलाई जिताएरै छोड्ने होडमा थिए । किनकि उनले रामसहायप्रसादलाई विजयी गराए बारा–२ निर्वाचन क्षेत्र स्वतः हुने संवैधानिक व्यवस्था छ । रिक्त क्षेत्रबाट संसद् छिर्न उनलाई सहज हुने देखिन्थ्यो भने उनले पनि यो कुरा बुझेका थिए ।

उनले सोचेझैँ उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भए । यादवको निर्वाचन क्षेत्र रिक्त भयो । उक्त क्षेत्रमा उपेन्द्रले बाजी मार्न निकै कोसिस पनि गरे । सत्ता गठबन्धनको बलियो साथ पनि पाए । र, उपनिर्वाचनमा उनी विजयी पनि भएरै छोडें ।

यसअघि उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने कोही कसैलाई कारबाही गर्ने हिम्मत गरेनन् । किनकि उनलाई उपनिर्वाचनमा निर्वाचित हुनु थियो । उनले उपराष्ट्रपति र उपनिर्वाचन अगावै अन्तरघात गर्नेमाथि कारबाही गरेको भए पार्टीभित्रको माहोल बिग्रिन सक्ने जसपाका एक नेता बताउँछन् ।

उप्रान्त अन्तरघातीमाथि कारबाहीको डण्डा चलाउने ध्याउन्नमा उपेन्द्र रहेको बुझिन्छ । पछिल्ला केही पार्टी सार्वजनिक कार्यक्रममा उनले अन्तरघातीलाई नछोड्ने अभिव्यक्ति दिँदै आएका छन् । यद्यपि हालसम्म कसैलाई कारबाही भने गरेका छैनन् । र, कारबाही गर्ने निश्चित नै भएको जसपा बताउँछ ।