काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भर्खर सम्पन्न केन्द्रीय सचिवालयको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । आज सार्वजनिक गरिएको बैठकका निर्णयहरुमा केन्द्रीय सचिवालयको बैठकमा प्रदेश तहमा संयुक्त अधिवेशनहरु गरी प्रदेश संगठन समितिहरुको निर्माण गर्ने, ती समितिहरुका बैठकहरुको आयोजना गर्ने र यो प्रक्रियालाई स्थानीय तहसम्म अगाडि बढाउने लगायत रहेका छन् ।
त्यस्तै अन्य निर्णयहरुमा कालापानी, सुस्तालगायतका नेपाली भूभागहरुमा हुँदैआएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरम रुपमा मौलाएको भ्रष्टाचार, मूल्यवृद्धि तथा अतिशय महंगी, मजदूर, किसान, सुकुम्बासी लगायत विपन्न वर्गका गास बासका समस्या, झुट्टा मुद्दामा फसाइएका राजनीति नेता तथा कार्यकर्ताहरुको रिहाइ, बैङ्कहरुको संरक्षणमा हुँदै आएका चरम सुदखोरी तथा मिटरब्याजी शोषण, हालै भारतमा गरिएकोे प्रधानमन्त्रीको भ्रमणको प्रक्रियामा गरिएको राष्ट्रघात तथा आत्मसमर्पणको विरोध सहितका विषयहरूलाई लिएर काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा विरोध प्रदर्शन गर्ने निर्णय लिइएको उल्लेख गरिएको छ ।
साथै बैठकले एक नम्बर प्रदेशमा कोशी नामाकरणको विरोध तथा पहिचानको आधारमा नामाकरण हुनुपर्ने विषयलाई लिएर लामो समयदेखि आन्दोलन चल्दै आएको छ र बैठकमा यो आन्दोलनको समर्थन गर्ने निर्णय लिएको छ ।
यस्ता छन् सातबुँदे निर्णयहरु :
१. बैठकको प्रारम्भमा सबै जनआन्दोलन दश बर्षीय महान जनयुद्ध र त्यस यताका विभिन्न संघर्षहरुमा प्राणको आहुति दिने सम्पूर्ण वीर सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२.बैठकमा अध्यक्षद्वारा तात्कालिक परिस्थिति, संगठन, संघर्ष लगायतका विषयमा आधारित संक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरियो । साथै सो बैठकमा केन्द्रिय कार्यालयद्वारा तयार पारिएको तात्कालिक सांगठनिक नीति तथा सचिवालय सहित केन्द्रीय आयोजक सदस्यहरुको कार्यविभाजन सम्बन्धी प्रस्ताव कमरेड उदयले वाचन गर्नुभयो । आवश्यक छलफल, बहस तथा परिमार्जन पश्चात् उक्त राजनीतिक प्रतिवेदन र प्रस्ताव सर्वसम्मत रुपमा पारित गरियो ।
३. केन्द्रीय सचिवालयको बैठकमा प्रदेश तहमा संयुक्त अधिवेशनहरु गरी प्रदेश संगठन समितिहरुको निर्माण गर्ने, ती समितिहरुका बैठकहरुको आयोजना गर्ने र यो प्रक्रियालाई स्थानीय तहसम्म अगाडि बढाउने निर्णय लिएको छ । साथै, सबै जनवर्गीय संगठनहरूको पनि माथिदेखि तलसम्म एकीकरण सम्पन्न गर्ने ठेगान भएको छ ।
४. बैठकमा कालापानी, सुस्तालगायतका नेपाली भूभागहरुमा हुँदैआएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरम रुपमा मौलाएको भ्रष्टाचार, मूल्यवृद्धि तथा अतिशय महंगी, मजदूर, किसान, सुकुम्बासी लगायत विपन्न वर्गका गास बासका समस्या, झुट्टा मुद्दामा फसाइएका राजनीति नेता तथा कार्यकर्ताहरुको रिहाइ, बैङ्कहरुको संरक्षणमा हुँदै आएका चरम सुदखोरी तथा मिटरब्याजी शोषण, हालै भारतमा गरिएकोे प्रधानमन्त्रीको भ्रमणको प्रक्रियामा गरिएको राष्ट्रघात तथा आत्मसमर्पणको विरोध सहितका विषयहरूलाई लिएर काठमाडौ लगायत देशका प्रमुख शहरहरुमा विरोध प्रदर्शन गर्ने निर्णय लिइएको छ । संघर्षको कार्यक्रम छिटै सार्वजनिक गरिनेछ ।
५. एक नम्बर प्रदेशमा कोशी नामाकरणको विरोध तथा पहिचानको आधारमा नामाकरण हुनुपर्ने विषयलाई लिएर लामो समयदेखि आन्दोलन चल्दै आएको छ र बैठकमा यो आन्दोलनको समर्थन गर्ने निर्णय लिइएको छ ।
६. बैठकमा नेकपा (मशाल) लगायत विभिन्न क्रान्तिकारी समूह तथा व्यक्तित्वहरुसित पार्टी एकतामा लागि पहल गर्ने निर्णय लिइएको छ ।
७. केन्द्रीय सचिवालयको बैठकमा प्रस्तुत तथा पारित राजनैतिक प्रतिवेदनमा भनिएको छ,‘माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको आवश्यकता अनुसार पार्टी एकतालाई मूर्तरुप दिएर हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक महान कामको प्रक्रियालाई अगाडि बढाएका छौं । अव यो एकतालाई विचारधारात्मक, सांगठनिक तथा भावनात्मक रुपमा पनि सुदृढ तुल्याउँदै एकता–संघर्ष–रुपान्तरणका आधारमा एकपछि अर्को अग्रगामी छलाङ् हान्दै जान आवश्यक छ ।’ सो प्रतिवेदन छिटै सार्वजनिक गरिनेछ ।