काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) र पूर्वमन्त्री वामदेव गौतम नेतृत्वको पार्टीबीच एकताको सम्भावना टरेको छ । गत वर्ष २०७९ पुषबाट पार्टी एकताका लागि प्रयासरत माधव र वामदेव अन्ततः पार्टी एकता नगर्ने निष्कर्षमा पुगेका छन् ।
नेकपा (एमाले)बाट विभाजित एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच लामो समयदेखि दलगत एकताका लागि अभ्यास भएपनि अब नहुने भएको छ । यी दुवै पार्टीले देशभर सांगठनिक विस्तार गर्न नसके पनि आफ्नो अस्थित्व रक्षार्थ एकआपसमा मिलेर जाने संवादलाई अगाडि बढाएका थिए ।
यी दुवै दलका शीर्ष तथा दोस्रो वरियताका नेताहरूबीच पटकपटक भेटवार्ता पनि भयो । तर, उक्त भेटले ६ महिनासम्म पनि एकता प्रक्रियालाई टुंग्याउन सकेन । बरु मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज)मा आएर एकताको हलो अट्कियो ।
माधव नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले पार्टी विभाजन ताका नै जवजको औचित्य समाप्त भईसकेको बताएको थियो । उसले जवजको मार्ग परिवर्तन गरेर अगाडि बढिसकेको छ । तर, एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले भने जवजलाई आधार बनाएर अघि बढ्नुपर्ने तर्क राख्दै आएका थिए ।
यो बीचमा माधव र वामदेवको भेटवार्ता पनि नभएको होइन । भेटमा वामदेवले जबजलाई अगाडि सारेका थिए । त्यसमा माधव नेपाल सहमत नभएपछि एकता प्रक्रियामा अन्योल सिर्जना भएको दुवै दलका नेताहरूले बताएका थिए ।
त्यसपछि पटकपटक पार्टी एकता प्रक्रियालाई अगाडि बढाउन दुवै दलका नेताहरूबीच संवाद भयो । उक्त संवाद खासै उपलब्धीमूलक भने नभएको एकता राष्ट्रिय अभियानले बताएको थियो । तर, पनि संवादलाई सार्थकता दिन कयौँपटक एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच दोहोरो संवाद भने जारी रह्यो ।
यद्यपि संवादमा एकता राष्ट्रिय अभियानले जवजलाई कदापि त्याग्न नसकिने अडान राख्दै आएको थियो । त्यसपछि एकीकृत समाजवादीका नेताद्वय घनश्याम भुसाल र वेदुराम भुसालले एकता राष्ट्रिय अभियानसँग सघन छलफल गर्यो । उक्त छलफल पश्चात् वामदेव पार्टी एकताका लागि तयार भएको यसअघि गोल खबरसँगको संक्षिप्त संवादमा वेदुराम भसालले बताएका थिए ।
‘वामदेव कमरेडसँग पटकपकटको छलफल र संवाद पश्चात् हामी पार्टी एकताको नजिक पुगेका छौँ । तर, सैद्धान्तिक बहस भने जारी नै छ । हामीबीच प्राविधिक र सांगठानिक संयोजनमा कुनै संकट छैन । किनकि हाम्रो पृष्ठभूमि एउटै हो,’ भुसालले भनेका थिए ।
एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानका नेताहरूबीच विगत एक महिनायता संवाद नभएको बुझिएको छ । वामदेव पार्टी एकताका लागि सकारात्मक भएपनि माधव नेपाल विभिन्न पार्टीका सार्वजनिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले यी दुईबीच संवाद हुन सकेको थिएन ।
यसैबीच भर्खरै सम्पन्न एमाले सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाउने निर्णय गर्यो । उक्त निर्णयबमोजिक अब बैठकले कार्यकारी कमिटीका पदाधिकारीहरूको हकमा उमेरहद नलाग्ने भएको छ ।
नवौँ राष्ट्रिय महाधिवेशनदेखि लागू गरिएको सोही उमेरहद सचिवालय बैठकले हटाउने निर्णय गरेको छ । नवौँ महाधिवेशनको निर्णयअनुसार दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेले आफ्नो नेतृत्व चयन गरेको थियो ।
चितवनमा २०७८ मंसिर ११ देखि १८ सम्म भएको दशौँ राष्ट्रिय महाधिवेशनले मुख्य नेतृत्व चयन गरेको थियो । मुख्य नेतृत्व अर्थात् अध्यक्षमा ओली विजयी भएका थिए । त्यसबेला उनको उमेर ७० वर्ष पुगेको थियो । यसर्थ उनी अध्यक्षका उम्मेदवार बन्न पाएका थिए ।
यहीँ जेठ १९ मा बसेको एमाले सचिवालय बैठकले उक्त उमेरहद हटाउने निर्णय गरेको छ । यो निर्णयले एमालेमा ७० वर्ष पुगेर मुर्झाएका नेता हौसिएका छन् । उनीहरूमा उप्रान्त उमेरहद नलाग्ने भएपछि वामदेव गौतम पनि एमालेमै फर्किने बताउँदै आएका छन् ।
उनी एमालेमा फर्किने कुरा सार्वजनिक रुपमै मुखरित गरेपछि एकीकृत समाजवादीका नेता रुष्ट बनेका छन् । उनीहरूले अब वामदेव नेतृत्वको पार्टीसँग एकताको च्याप्टर क्लोज भएको बताएका छन् ।
यदि एकता राष्ट्रिय अभियानले एमालेसँग एकता गर्ने नै हो भने एकीकृत समाजवादीसँग एकता गर्नुको औचित्य समाप्त भएको बताएका छन् । एमाले र एकीकृत समाजवादी विभाजन भएयता यी दुवै दलबीच पानी बाराबारको अवस्था छ ।