पेरिस । फ्रान्सेली अल्प्सको एन्नेसी सहरमा एक वयस्कसहित ६ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् ।
बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै सुरक्षा स्रोतले एएफपीलाई बताएको छ ।
आक्रमणकारीलाई पक्राउ गरिएको छ । आक्रमणमा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले बताएको छ । फ्रान्सेली सञ्चारमाध्यममा आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसदका सदस्य एक मिनेट मौन भएका थिए ।
आक्रमणकारी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ । यसैबीच, राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।