• जेष्ठ २८ २०८२, मंगलवार

केटीको विषयमा विवाद हुँदा कुटाकुट, ९ जना पक्राउ

जेष्ठ २५ २०८०, बिहीबार

काठमाडौं । ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसुरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए ।

महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट तीन वटा मोटरसाइकल समेत बरामद भएको छ ।

प्रहरीका अनुसार घटना सोमबार राति १० बजेतिरको हो । महाँकाल गाउँपालिका–३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ । उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए ।

बर्दिया मधुवन नगरपालिका–२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा घाइते भएका थिए । घाइते भएपछि प्रहरीले त्यही बेला उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो । त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पु‍र्याइएको थियो ।

अहिले उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ । त्यसयता प्रहरीले घटनामा संलग्न रहेकाहरूको खोजी गरी ९ जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार युवतीको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो । खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर एक घाइते पुरूषले पाएका थिए ।

‘कामदारले कतैबाट नम्बर पाएर फोन गरेका रहेछन्। तर फोन गर्दा केटाले उठायो,’ स्रोतले भन्यो, ‘केटीलाई फोन दिनू भनेपछि गर्लफ्रेन्डलाई फोन गरिस् भनेर विवाद भयो त्यसपछि केटाहरूले गएर हिर्काए । पाल टाँगेर बसिरहेका थिए त्यहीँ हिर्काए ।’

प्रहरीले ज्‍यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ ।