• जेष्ठ २८ २०८२, मंगलवार

महानगर प्रमुख बालेन शाहले कार्यालयमा राखे ‘ग्रेटर नेपाल’को नक्सा

जेष्ठ २५ २०८०, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको एक सचिवालय सदस्यले सञ्चारमाध्यमलाई बताए ।

‘भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,’ उनले भने, ‘त्यही भएर स्वतन्त्र मेयर भएका कारण उहाँले ‘टिट फर ट्याट’ गर्न कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने भन्नुभएको थियो ।’

यस्तै नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको उनले बताए । मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन् ।

भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो । उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो । उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ । प्रधानमन्त्रीलाई सांसदहरूले भारतीय संसदमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन् ।