जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । बुधबार राति ७ बजे कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्दठकुरीले जानकारी दिए ।
कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो । एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजी ठकुरीले बताए ।
‘कोरियन एयरलाइन्समा चुरोट खायो भनेर फ्लाइटबाटै जानकारी आएको थियो । काउन्टरले खबर आएको छ भने अवतरण भएपछि हामी गयौं त्यसपछि पत्रसहित बुझाएकाले हामीले आरोपीलाई नियन्त्रणमा लियौं,’ उनले भने ।
पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ ।