काठमाडौँ । देशभर गर्मी बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै पाँच दिनदिनसम्म ‘लु’ चल्ने जनाएको छ । मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि तापक्रम बढिरहेको तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।
हाल तराईमा डेढ सातादेखि चलिरहेको लु (तातो हावा) पश्चिम तराईसम्म फैलिएको छ। लु अझै पाँच दिनसम्म लम्बिने आकलन गरिएको छ। महाशाखाले निकालेको बुलेटिनमा तातो हावा तथा लुबाट बच्न अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिइएको छ । निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन भनेको छ।
सुरुमा मध्यतराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लु चलेकामा हाल विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म फैलिएको छ। अहिले तराईमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ।