काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा भने- ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए…’
लगत्तै माओवादी केन्द्रका सांसदहरु उठे। सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए। तर त्यतिञ्जेल एमाले, रास्वपा र राप्रपाका सांसदहरु उठिसकेका थिए। समयम पाएका पाण्डेले खनालको अभिव्यक्तिप्रति नियपपत्ति गरे। उनले संसद्मा मर्यादित संसदीय शब्द प्रयोग गर्नुपर्ने तर्क राखे। ‘भैंसी चढेर आउनुभएको भन्न पाइँदैन। असंसदीय शब्द रेकर्डबाट मेटाइयोस्,’ उनले भने।
त्यतिञ्जेल एमाले, रास्वपा र राप्रपाका सांसदहरु उठेर होहल्ला गर्न थालिसकेका थिए। सभामुखले भने आसन ग्रहण गर्न आग्रह गरे। उनले पालैपालो बोल्न आग्रह गरे। त्यसपछि एमालेका सांसद सूर्यबहादुर थापालाई समय दिए।
थापाले एक सदस्यले बोलिरहेको समयमा अर्को सदस्यले बाधा पुर्याउन नहुने भन्दै सत्ता पक्षका मान्छेले दादागिरी देखाएको बताए। ‘नियमावलीको पालना गरियोस्। दादागिरी स्वीकार्य हुन्न,’ थापाले भने।
होहल्ला जारी नै थियो। सभामुख भने आसन ग्रहणका लागि आग्रह गरिरहेकै थिए। समय लिएर बोल्न र समय पाउनेले मात्रै बोल्न आग्रह गरिरहेका थिए। होहल्लाका बीच सभामुखले ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए।